हुप्रचौरमा डाटा सेन्टर निर्माण
०७ बैशाख, २०७४काठमान्डौ सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौँडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको २० करोड रुपैयाँ लागतमा सेन्टर स्थापना भएको हो । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्नेछ ।
हेटौँडाको हुप्रचौरस्थित नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो । सेन्टर निर्माणका लागि नेपाल आदर्श कम्पनीलाई जिम्मा दिइएको थियो । काम सुरु गरेको १८ महिनामा भवन निर्माण सम्पन्न भएको हो । डाटा सेन्टरको भवन निर्माण निर्धारित समयमै सकिएको कम्पनीका इन्जिनियर कृष्णगोविन्द खामलीले बताए । दैनिक ५० जनादेखि ८० जनासम्म कामदार खटाएर समयमै निर्माण सम्पन्न गरेको खामलीले जानकारी दिए । निर्माण कम्पनीले सरकारलाई भवन हस्तान्तरण गर्ने तयारी गरिरहेको इन्जिनियर खामलीले बताए ।
डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिला भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक अनुप बास्कोटाले बताए ।
कोइकाले नै सबै निर्माण पूरा गरेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ । सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करिब ३७ करोड रुपैयाँ लग्नेछ । २० करोड रुपैयाँमा भवन निर्माणमा र बाँकी प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो । नेपालका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा र दातृ निकाय कोइकाका प्रमुख योङ आ गोले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्रमा इन्जिनियरहरूका लागि तालिमको व्यवस्था गरिने, संरचना निर्माणका लागि जग्गा नेपाल सरकारले उपलब्ध गराउने तथा जनशक्ति र कार्यालय राख्ने व्यवस्था मिलाउनेलगायत छ ।


No comments