Header Ads


मधेसवादी ६ पार्टीबीच एकता

बैशाख ७  / मधेसवादी ६ पार्टीबीच एकता भएको छ । ६ दलबीच भएको एकता प्रक्रियापछि पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएको हो ।
अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकता प्रक्रियामा सहभागी भएको छ । यसअघि एकता प्रक्रियामा सहभागी नहुने बताइएको थियो । एकता प्रक्रियामा नेताहरुले अहिले चुनावका लागि एकता नभएको बताए । उनले आफूहरुका माग पूरा गराउन पार्टी एकता गरिएको बताए ।
मधेसमा पार्टी बलियो भएपछि पहाड र हिमालमा पनि बिस्तार गर्ने उनीहरुको योजना छ । “चुनावमा जान एकतामा आएको होइन,” राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले भने, “अहिलेको अवस्थामा चुनावमा जाँदैनौं । आन्दोलनलाई अझ बढाउँछौं ।”
उनले भोलि हुने खतराको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए । नेता राजेन्द्र महतोले मधेस, तराई र जनताका लागि लडेको पार्टी भएकाले राष्ट्रिय जनता पार्टी राखिएको बताए ।
उनले मधेसमा बलियो भएपछि हिमाल र पहाडमा पनि जाने प्रतिवद्धता जनाए ।  एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह, झण्डा लगायत सार्वजनिक गरिएको थियो ।
झण्डामा तीन रङ मिसिएको छ । रातो, सेतो र हरियो । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन् । पार्टीको नेतृत्व अर्को महाधिवेशनसम्म पालैपालो गर्नेछन् । पहिले महन्थ ठाकुरले नेतृत्व गर्नेछन् भने त्यसपछि राजेन्द्र महतोले पार्टीको नेतृत्व गर्नेछन् ।

No comments

Powered by Blogger.