Header Ads


जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना नागरिक सुनुवाई

हेटौंडा,२३ फागुन
 समाजमा नागरिकसँगको सम्बन्ध विस्तार गर्दै समुदायसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रहरीले प्रयास गरिरहेको आज हेटौंडामा आयोजित कार्यक्रममा बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले प्रहरीको तर्फबाट नागरिकसँगको सम्बन्ध विस्तारमा पहल भइरहेको स्पष्ट पार्नुभयो । नागरिककै हितलाई ध्यानमा राखेर प्रहरीले सेवा दिइरहेको भएपनि नागरिक र प्रहरीबीचको दुरी देखिएको सन्दर्भमा नागरिकसँग समन्वय र सम्बन्ध विस्तारका लागि प्रहरी मेरो साथी अभियान, मुस्कानसहितको सेवा लगायतका कार्यक्रम सञ्चालन भएको एसपी लामाले बताउनुभयो ।

साथै, उहाँले नागरिक सुनुवाई पनि प्रहरीको नागरिकसँग निकट सम्बन्ध स्थापित गर्ने एउटा माध्यम भएको बताउनुभयो । प्रहरीले विगत ३ महिनामा सञ्चालन गरेका काम, उपलब्धी र चुनौतीबारे जानकारी दिँदै नागरिकका गुनासा तथा प्रतिक्रिया भए टिप्पणीका रुपमा लिई सुधार गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको एसपी लामाले बताउनुभयो । सो अवसरमा एसपी लामाले ३ महिनामा भएका कार्य सम्पादन विवरण, अनुसन्धानका क्रममा भएका नियन्त्रण, अपराधमा कारबाही, फरार अपराधी पक्राउ, लागु औषधका कारबाही, ट्राफिक कारबाही, अवैध सुन पक्राउ जस्ता कामको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा नागरिक समाज, विभिन्न संघ संस्था र राजनीतिक पार्टी, सामुदायिक प्रहरी, सर्वसाधारण लगायतले जिज्ञासा राखेका थिए । एसपी बसन्तकुमार लामाको प्रमुख उपस्थितिमा सञ्चालन भएको कार्यक्रममा वक्ताहरुले सडकमा सवारी चाप, लागु औषध प्रयोगकर्ता, लाइसेन्स जाँच, प्रहरीको व्यवहार जस्ता विषयमा केन्द्रित भई जिज्ञासा तथा सुझाव दिएका थिए

No comments

Powered by Blogger.