Header Ads


मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई, डेढ करोड मतपत्र छाप्नुपर्ने

फाल्गुण २३ सोमबार
 विद्यालय तहका पाठ्यपुस्तक पनि समयमा छाप्न नसकिरहेको जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचनका लागि मतपत्र छाप्ने जिम्मेवारी पनि थपिएको छ । केन्द्रले ३५ दिनभित्रै एक करोड ५० लाख मतपत्र छाप्नुपर्नेछ ।

आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । आयोगले केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएपछि केन्द्रको चटारो बढेको हो ।

केन्द्रका निर्देशक कपिलदेव पोखरेलले निर्वाचनका लागि आयोगले १ करोड ५० लाख मतपत्र छाप्न निर्देशन दिएको बताए । चैत ५ देखि वैशाख १३ गतेसम्ममा सम्पूर्ण मतपत्र  छापिसक्नुपर्ने पत्र निर्वाचन आयोगबाट आएको उनले जानकारी दिए ।

विद्यालयका लागि पाठ्यपुस्तक समयमा छाप्न नसकेको जनक शिक्षाले समय सीमाभित्रै मतपत्र छाप्न सक्नेमा सरोकारवालाहरू भने आशंका व्यक्त गर्छन् । निर्देशक पोखरेल भने केन्द्रको कार्यक्षमतामा शंका नगर्न आग्रह गर्छन् । “३० दिनमै मतपत्र छापेर भ्याइन्छ । संविधानसभा चुनावका लागि २४ दिनमा ३ करोड मतपत्र छापेको हाम्रो अनुभव छ,” उनले भने । १ करोड ५० लाख मतपत्र समयमै छापिसक्न दैनिक ५ लाखका दरले छाप्नुपर्ने उनले बताए ।

निर्वाचन आयोगले जनक शिक्षालाई मतपत्र छपाइका लागि केन्द्रको छापाखाना मर्मतसम्भार गर्नुपर्ने भए यथाशिघ्र गरी चालु अवस्थामा राख्न निर्देशन दिएको छ ।

छपाइ मेसिनहरूको सर्भिसिङ र केहीका पार्टपुर्जा बदल्नुपर्ने निर्देशक पोखरेलले बताए । दुई दिन बन्द गरेर मेसिन मर्मत र पार्टपुर्जा बदल्ने काम भइरहेको उनले जानकारी दिए । निर्वाचन आयोगले मतपत्र छाप्न भनेरै केन्द्रलाई चारवटा नयाँ छपाइ मेसिन उपलब्ध गराएको छ ।

डेढ करोड मतपत्र छपाइमा लाग्ने खर्च भने केन्द्रले निकालिसकेको छैन । निर्वाचन आयोगसँग छलफल गरेर लागत निकाली छपाइको समझदारी गरिने केन्द्रका निर्देशक पोखरेलले बताए ।

No comments

Powered by Blogger.