Header Ads


सत्तापक्ष, न विपक्षी अब के गर्लान् गच्छदार ?

साउन २७मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदार राजनीतिमा भयानक अप्ठ्यारोमा परेका छन् । 

उनी दोस्रो सविधानसभापछि बनेको काँग्रेसका तत्कालीन सभापति सुशिल कोइराला नेतृत्वको सरकारमा गएका थिएन । तर, पनि त्यसबेला पनि यस्तो अप्ठ्यारो परेको थिएन ।

हुनत कोइराला नेतृत्वमा बनेको सरकारमा पनि उनी जान नचाहेको होइन तर काँग्रेसले लिन इच्छा नदेखाएपछि उनी बाहिर बसेका थिए । त्यसबेला बाहिर बसेपनि प्रचण्डले गठन गरेको ३० दलीय गठबन्धनमा सहभागी भएपछि उनी एक्लो भएका थिएनन् ।

त्यसअघि झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा पनि विजय कुमार गच्छदार सहभागी भएका थिएन । त्यसबेला पनि उनलाई मधेशी मोर्चाले साथ दिएको कारण एक्लो महसुस भएको थिएन । तर, यसपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारमा नलिएपछि उनी यता न उताका भएका हुन् ।

किन भयो त्यस्तो ?

राजनीतिकमा सधैभरि चतुर्याई चल्दैन भने उदाहरण बनेका छन् गच्छदार । सत्ताका लागि जेपनि गर्ने, जसलाई पनि धोका दिन सक्ने व्यक्ति भएकाले आज उनले सबैबाट धोका खाएको विश्लेषण गर्न थालिएको छ ।
कतिपय त गच्छदारको हालत बाघले बाख्रा खायो भन्ने कथा जस्तो भएको बताउँछन् । ‘सधै सबैलाई धोक दिने उनी आज एकैपटक सबैबाट धोका पाएका छन् ।’ मधेशी मोर्चाका आबद्ध एक नेताले भने ।

माधव कुमार नेपाल नेतृत्वको सरकारमा सहभागी हुन उनले उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल नै फुटाएका थिए । त्यहीबाट उनको सत्ताको यात्रा र चतुर्याईको खेल शुरु भएको मान्ने गरिएको छ ।

माधवकुमार नेपालसपछि बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा पनि उनी जान चाहेका थिए । तर, उपेन्द्र यादवले त्यसबेला पनि उनलाई रोकेका कारण त्यसमा गच्छदार आफू पनि गएन र मोर्चालाई समेत जान दिएनन् ।

त्यसपछि बनेको डा।बाबुराम नेतृत्वको सरकारमा मधेशी मोर्चाका साथमा नै सहभागी भएका थिए । गच्छदार गृहमन्त्री सहित उपप्रधानमन्त्री भए । पछि रक्षामन्त्री पनि भए । त्यसपछि बनेको सुशिल कोइराला नेतृत्वको सरकारमा जान उनी इच्छा देखाएपनि जान पाएन । त्यसपछि उनी प्रचण्डसँग मिलेर गठबन्धन बनाएका थिए ।

गठबन्धनको बलमा काँग्रेस र एमालेसँग उनले संघर्ष गरेका थिए । आन्दोलन गरिरहँदा मधेशी मोर्चा पनि पुनः गठन भयो । मधेशी मोर्चा पनि आन्दोलनमा सहभागी भएकै बेला गच्छदारले मधेशी मोर्चालाई छाडेर प्रचण्डको साथमा काँग्रेस र एमालेसँग १६ बुँदे सम्झौता गरी सविधान निर्माणमा सहभागी भएका थिए ।

१६ बुँदे सम्झौता गरेपछि उनलाई कारवाही गरी मोर्चाबाट निकालिएको थियो । त्यसपछि उनले शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकलाई साथमा लिएर मोर्चा बनाएका थिए । तर, जब ओली नेतृत्वको सरकारमा जाने कुरा भयो, मोर्चाका अन्य दुईजना नेतालाई जानकारी नै नदिइकन गच्छदारले एमालेसँग आठ बुँदे सम्झौता गरी सरकारमा सहभागी भए ।

यो कदमले उनको पार्टी र पार्टी बाहिर पनि निकै आलोचना भएको थियो । यो घटनाले गर्दा उनको पार्टी छाडेर थुप्रै नेताहरु अन्य अन्य पार्टीमा गए तर उनी सरकारबाट टसमस भएका थिएन । जब ओली सरकारबाट माओवादीले आफ्नो समर्थन फिर्ता लिए अनि अन्तिम समयमा गएर उनले पनि ओली नेतृत्वको सरकारबाट आफ्नो समर्थन फिर्ता लिई प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने घोषणा गरे ।

प्रचण्डको गठबन्धन

तर विगतदेखि धोका दिँदै आएका कारणले मधेशी मोर्चाले गच्छदारलाई सरकारमा नलिन माओवादीका अध्यक्ष प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवालाई दवाव दिएका थिए र सोही दवावका कारण गच्छदारलाई अझैसम्म सरकारमा लिने कुनै सुरसार छैन ।

पहिलो चरणको मन्त्रीमण्डलमा नलिएपछि दोस्रो चरणको मन्त्रीमण्डल विस्तारमा आफ्नो पार्टीलाई सहभागी गराइने गच्छदारको विश्वास थियो । दोस्रो, चरणमा पनि नलिँदा उनी निराश भएका छन् ।

सत्ताधारी गठबन्धनले सरकारमा लिँदैन कि भन्ने उनी निश्कर्षमा पुग्न थालेका छन् । पार्टीको आगामी कदम बारे छलफल गर्न उनले आज बैठक बोलाएका छन् । के निर्णय लिने भने कुरा पार्टीका नेताले बताउन चाहेका छैनन् ।
पार्टीका एक नेताले भने, ‘गच्छदारले केही निर्णय लिन सक्दैन, केही दिन चुपचाप बस्नमा नै भलाई छ । सरकारमा जाँदैनाँै र सरकारको विरुद्धमा आन्दोलनमा जान्छौँ भनि निर्णय गर्यो भने उनको झन विरोध हुन्छ । किनभने यसअघि सरकारमा जाने निर्णय सार्वजनिक भइसकेको छ । काँग्रेस र माओवादीले सरकारमा लिएन त्यही भएर आन्दोलनमा आएको भन्दै गच्छदारलाई अहिले त्यति सजिलो मधेशमा एक्सेप्ट गर्ने अवस्था छैन ।’
अहिले उनीसँग न मधेशी मोर्चा छ, न संघीय गठबन्धन, न एमाले, न काँग्रेस, न माआवादी । यहाँसम्म उनलाई राप्रपा नेपालका कमल थापाले समेत साथ नदिने भएका छन् ।

सरकार छाड्ने बेला एमाले र राप्रपा नेपाललाई पनि धोका दिएर बाहिरीएपछि एमाले र राप्रपाले पनि आफ्नो गठबन्धनमा नराख्ने भएको छ ।

‘गच्छदारले सत्ता स्वार्थ नदेखाएर ओलीलाई मात्र साथ दिएको भए, प्रतिपक्षको रुपमा राम्रो भूमिका उनको हुनसक्थ्यो ।’ मोर्चाका एक नेता भन्छन्, ‘तर, उनले सत्तालाई प्राथमिकतामा राखेर सबैलाई धोका दिँदै अगाडी बढेपछि बाघ बाख्राको कथा जस्तै नियति उनलाई भोग्नै पर्ने छ ।’

२०४८ सालदेखि लगातार मन्त्री बन्दै आएका गच्छदार यसपटक सरकारमा नगएको कारणले मात्र होइन, सबैले मिलेर उनलाई एक्लाएको कारणले उनी अप्ठ्यारोमा परेका हुन् ।

No comments

Powered by Blogger.