अनुदान सम्झौताका लागी मकवानपुरमा कर्मचारी खटिए
हेटौँडा, साउन १८ गतेभूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौताका मकवानपुर जिल्लाको दुई नगरपालिकासहित ३५ गाविसमा कर्मचारी खटिएका छन् ।
हेटौँडा उपमहानगरपालिकाका लागि छनौट भएका कर्मचारीहरुको अनुशिक्षण पछि खटिएका हुन् । यसअघि थाहा नगरपालिकासहित ३५ गाविसमा एकसय १४ कर्मचारी खटिएका थिए । जिल्ला विकास समितिमा आज आयोजित अनुशिक्षण कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्प पीडितहरुलाई राज्यले अभियानकोरुपमा सहयोग थालेको बताउँदै कर्मचारीहरुलाई इमानदारपूर्वक सहयोग गर्न निर्देशन दिए । उनँले जागिरको मात्र भावना नराखेर तोकिएको स्थानमा गएर अनुदान सम्झौता, गुनासो संकलनलगायतका कार्यमा सहयोग गर्नु दायित्व भएको भन्दै सरकारले दिने सहयोगको सदुपयोगमा जोड दिए । जिल्ला विकास समिति मकवानपुरका निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा भवन प्रविधि कार्यालयका प्रमुख सुदीप आचार्य, हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेव पोखरेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव प्रहरी उपरीक्षक बामदेव गौतम र हर्डका मकवानपुर सञ्चार सल्लाहकार राममणि दाहालले बोलेका थिए ।
कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेल र योजना अधिकृत एवं अनुदान सम्झौता अधिकृत किसन न्यौपानेले सहजीकरण गर्नु भएको थियो । मकवानपुरको टिष्टुङ, भैसे, भार्ता, छतिवन, सिस्नेरी, फाखेल, नामटारलगायतका गाविसमा अनुदान सम्झौताको काम अघि बढेको छ ।
अधिकांश गाविसमा गुनासो संकलन लगत्तै अनुदान सम्झौताको काम अघि बढाइने गाविस सचिवहरुले बताएका छन् । थाहा नगरपालिकामा आवश्यक तयारीपछि अनुदान सम्झौतासँगै गुनासो संकलन गर्ने स्थानीय सर्वदलीय वैठकले निर्णय गरेको छ । छनोट भएका कर्मचारीहरुले लाभग्राहीहरुको दर्ता, अनुदान सम्झौता, गुनासो व्यवस्थापन, अभिलेखलगायतका कार्यमा सहजीकरण गर्ने छन् ।
मकवानपुरमा भूकम्प पीडितहरुको लागि अनुदान सम्झौता गर्न पञ्जीकरण, गुनासो व्यवस्थापन र प्रशानिक एवं कम्प्युटर सहायक अधिकृत गरी एकसय ६२ कर्मचारी छनोट भएका छन् ।


No comments