नुनको मूल्य प्रतिकिलो रु १५० नाघ्यो
गोरखा, १० साउन । जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ ।
सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि स्थानीयवासी मर्कामा परेका छन् । थुमी गाविसको सोतिबजारबाट खच्चडले सात दिन लगाएर तिब्बतसँग सिमाना जोडिएको सामागाउँ गाविस पु¥याएको नुन प्रतिकिलो रु १५० मा बिक्री भइरहेको स्थानीय शिक्षक वीरबहादुर लामाले जानकारी दिनुभयो । “एक किलो सामान ढुवानी गर्दा रु ८०÷९० पर्छ,” उहाँले भन्नुभयो– “भूकम्पपछि राहत र निर्माण सामग्री ढुवानी गर्न भ्याइनभ्याइ छ । भने जति पैसा पाएपछि खच्चड व्यवसायीले खाद्यान्नको सट्टा निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिएका छन् ।”
आयोडिनयुक्त नुनको मूल्य रु १५० नाघेपछि स्थानीयवासीले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्न थालेका छन् । ढिके नुनमा आयोडिनको मात्रा कम हुने भएकाले गलगाँडलगायतका विभिन्न रोग लाग्नसक्ने जोखिम हुन्छ । “चौँरीलाई खुवाउन ल्याएको नुन मान्छेले खान थाले”, लामाले भन्नुभयो । स्थानीय बजारमा आयोडिनयुक्त नुनको अभाव भएको छ । थुमीको सोतिबजारदेखि माछाखोला, सिर्दिवास हुँदै सामागाउँसम्म बर्खा लागेपछि खच्चड सञ्चालन भएको छैन । उत्तरी क्षेत्रमा सञ्चालित एक हजार ३०० बढी खच्चडले काम पाएका छैनन् । ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौँजा, काशीगाउँलगायत गाविसमा पनि नुन, तेल, चामलको अभाव भएको छ ।
पहिरोले मनास्लु पदमार्ग अवरुद्ध गरेको, उर्लेको बूढीगण्डकीको भेलले चुम्चेत–१ लोक्पा सर्दीखोलामा बाटो बगाउँदा दैनिक उपभोग्य सामग्रीको अभाव चुलिँदै गएको छ । गत वर्षको बर्खामा खच्चड सञ्चालन नहुँदा स्थानीयले राहत सामग्री उपभोग गर्नुपरेको थियो । नेपाल खाद्य संस्थानले माछाखोला र सिर्दिवास डिपोमा कोटाअनुसार क्रमशः दुई हजार र तीन हजार क्विन्टल खाद्यान्न ढुवानी नगर्दा उत्तरी भेगमा खाद्य सङ्कट भएको हो । एक बोरा ९३० किलो० चामललाई रु चार हजार ५०० पर्छ । “थोरै कमाई हुनेलाई भात खान मुस्किल पर्छ,” शिक्षकले लामाले भन्नुभयो । गाउँदेखि माछाखोला आवतजावत गर्ने बाटो पहिरोले अवरुद्ध भएपछि केरौँजावासीलाई समेत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । केरौँजागाउँबाट रुन्चेत झर्ने बाटोमा ठूलो पहिरो गएको छ । त्यहाँ आधा घन्टाको बाटो पार गर्न तीन घन्टा लाग्ने गरेको केरौँजा–५ रुन्चेतका धनप्रसाद गुरुङले बताउनुभयो ।
केरौँजामा प्रतिकिलो नुनको मूल्य रु ४५ पर्छ भने सोना मन्सुली चामलको मूल्य प्रतिबोरा दुई हजार ५०० पर्छ । “एक महिनादेखि खाद्य सामग्री ढुवानी ठप्प छ । गाउँका पसल रित्तिएका छन्,” गुरुङले भन्नुभयो । नुन किन्न बजार झर्न सक्ने अवस्था छैन । पुनःर्निर्माणका लागि अनुदान रकमको पहिलो किस्ता लिन आरुघाट बजारस्थित बैंकमा जानसक्ने अवस्था नरहेको भन्दै उहाँले दुर्गम भेगका लागि गाउँमै अनुदान बाँड्ने व्यवस्था सरकारले मिलाउनुपर्ने माग गर्नुभयो । खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङले ढुङ्गा खसेर खच्चड घाइते हुनथालेपछि स्थानीय प्रशासनको आग्रहमा बर्खाका लागि खच्चड सञ्चालनमा रोक लगाउनुपरेको बताउनुभयो । भूकम्पले भत्काएका बाटो मर्मत नभएको र यस बर्खाले झन् बिगारेको भन्दै बाटो निर्माण गर्न सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो ।
मनास्लु पदमार्गको सोतिबजारदेखि सामागाउँ र चुम्चेतको सर्दीखोलामा बिग्रेको बाटो मर्मत गर्न लाखौँ रकम आवश्यक पर्ने गुरुङको भनाइ छ । बाटो सहज भएर खच्चडले नियमित खाद्यान्नलगायत सामग्रीको ढुवानी नगर्दासम्म उत्तरी भेगमा उपभोग्य सामग्रीको मूल्य नघट्ने बताइएको छ ।
No comments