Header Ads


‘ललितपुर हेटौडा जोड्ने कान्तिलोकपथ निर्माणमा बजेट अभाव हुँदैन’

हेटौडा, पुस ११ – सरकारले ललितपुरबाट हेटौडा जोड्ने कान्तिलोकपथ निर्माणको काममा बजेटको अभाव हुन नदिने बताएको छ । सडकको अवलोकन गर्दै हेटौडा पुगेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा निर्माण भैरहेको कान्तिलोकपथ छिट्टै सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताउनुभएको हो ।

मन्त्री र विकास समितिका सांसदसहितको टोलीले जिल्ला विकास समिति मकवानपुरको हलमा कान्तिलोकपथका बारेमा सबैकुराको जानकारीसहित यसका बारेमा जानकारी गराएका थिए ।

दुई अर्ब रुपैयाँमा कालोपत्रेको काम सक्नेगरी बहुवर्षीय योजनाका साथ काम भैरहेको पनि उहाँले बताउनुभयो । हेटौडा ललितपुर जोड्ने ९० किलोमिटर लम्बाई भएको लोकपथ २०१३ सालमा कच्ची सडकका रुपमा निर्माण सुरु भएको थियो। 

हेटौडाको बुद्धचोकबाट ललितपुरसम्म ९० किलोमिटर लम्बाई रहेको लोकपथ निर्माणका लागि सरकारले ध्यान दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।सडकलाई कुनैपनि हालतमा चाडोभन्दा चाडो निर्माणको काम सकेर चालु हालतमा ल्याउने सरकारको तयारी रहेको मन्त्री लेखकले बताउनुभयो ।

सडक निर्माण सुरु भएको ५८ वर्षपछि बल्ल सार्थक रुपमा काम सक्न लागेकाले यसमा स्थानीय बासिन्दाको त्यतिकै सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । कान्तिलोकपथ निर्माणको क्रममा ललितपुर क्षेत्रमा एक सय १० करोड र मकवानपुर क्षेत्रमा ९० करोड रुपैयाँ लगानीमा काम सकिने उहाँको भनाई छ । यो सडक निर्माण भइसकेपछी राजधानिसँग तराईलाई जोड्ने गतिलो मार्ग बन्ने अपेक्षा गरिएको छ ।

अनुगमनका क्रममा हेटौडा आइपुग्नु भएका ब्याबस्थापिका संसदको विकास समितिका सभापति रबिन्द्र अधिकारीले कान्तिलोकपथ निर्माण गर्नका लागि सरकारले कुनैपनि कमि नराख्न समेत आग्रह गर्नुभयो । यस आयोजनामा काम गर्ने निर्माण ब्याबसायीहरुले ध्यान दिएर काम गरेमा समयमानै सकिने उहाँको भनाई छ । यस सडकका लागि स्थानीय बासिन्दाको लगाब र चासो बिना विकास सम्भव नभएकाले सबैको उत्तिकै चासो आबश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा कान्तिलोकपथ आयोजनाका प्रमुख देबेन्द्र साहले २०१३ सालमा कच्चि सडका रुपमा निर्माण सुरु भएको यस सडकले अबको केही वर्षमानै काम सकिने हालतमा पुगेको बताउनुभयो ।

अहिले कान्ति लोकपथ निर्माणका लागि १४ वटा ठेक्काको सम्झौता अनुसार काम जारी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘९० किलोमिटरको यस सडकमा ७९ किलोमिटर पिच गर्ने, ७ मिटर चौडाईमा पिच गर्ने, साढे नौ मिटर कटिङ गरेर सडक फराकिलो बनाउने काम गरिने छ ।’

No comments

Powered by Blogger.