Header Ads


मनसुन फेरि सक्रिय, कोशी र महाकालीको बहावले खतराको सूचक नाघ्यो

मध्य र पूर्वी नेपालमा अझै भारी वर्षात हुने अनुमान
२७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा अगष्टदेखि तल झरेको मनसुनको ग्राफ आइतवार साँझदेखि एकाएक माथि चढेको छ । पूर्वी तथा मध्य भागमा पुनः मनसुन सक्रिय हुँदा भारी वर्षात भइरहेको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । भारतको पश्चिम बंगाल र बिहारमा केन्द्रित भएको न्युन चापीय क्षेत्र नेपाल नजिक छ । जसका कारण वर्षातको मापन अझ माथि जान सक्ने देखिएको छ । मध्य र पूर्वी नेपालका जलाधार क्षेत्रहरु र ती भूभाग भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ । मौसमविद समिर श्रेष्ठका अनुसार कोशी र महाकालीको बहाव औसत भन्दा निकै बढेको देखिएको छ । बिभागले मापन गरेको बहाव खतराको सूचकमाथि माथि गइसकेको श्रेष्ठले बताए । मंगलवार पनि पूरै मौसम सफा नहुने
मनसुनी न्युन चापीय रेखा पनि पश्चिम नेपाल नजिक छ । न्युन चापीय क्षेत्रका कारण पर्याप्त मात्रामा जल वाष्प आपूर्ति भएको छ । यसको प्रभावले नेपालको मध्य र पूर्वी नेपालका धेरै भूभागहरुमा वर्षा भइरहेको बिभागले जनाएको छ । साथै पश्चिम नेपालका केही स्थानहरुमा पनि वर्षा भइरहेको छ । मध्य र पश्चिम नेपालको आकाशमा बादलको चाप अझै रहेकाले वर्षात बढ्न सक्ने अनुमान गरिएको छ । मौसमविद श्रेष्ठले भने, ‘मनसुन फेरि सक्रिय भएकाले काठमाडौं लगायत मध्य र पूर्वी नेपालमा आज दिनभरी र रातभरि वर्षा हुने देखिन्छ । मंगलवार पनि पूरै मौसम सफा हुने छैन ।’मनसुन सक्रिय भएकाले आकाश खुल्न समय लाग्ने उनले बताए । मंगलवार केही सुधार भए पनि पूरै खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतः सेप्टेम्बर अन्तिमसम्म मनुसुन सक्रिय रहन्छ । यस वर्ष मनसुन अक्टोबर पहिलो सातासम्म लम्बिने अनुमान गरिएको छ ।
राजधानीमा सकस
आइतवार साँझदेखिको निरन्तर वर्षाका कारण राजधानी काठमाडौंको जनजीवन प्रभावित भएको छ । सडक बिस्तार र अन्य बिभिन्न कारणले भत्काइएका राजधानीका अधिकांश भित्री सडकहरु जलमग्न भएकाले यातायात आवागमन कठिन भएको छ । चक्रपथ लगायत बाहिरी सडकहरु पनि जलमग्न भएका छन् भने धोबिखोला, टुकुचा, बिष्णुमती, बागमती लगायत खहरे किनाराका कतिपय घरहरुमा पानी पसेको छ । ढलहरु साँघुरा भएका कारण शहरका बिभिन्न भागमा डुबान भइरहेको छ ।

No comments

Powered by Blogger.