Header Ads


बन्द युनिलिभर खोल्ने सहमति

हेटौँडा,५ असोज
विगत केही  देखि मजदुर तथा व्यवस्थापनका बीच विभिन्न माग राखी बन्द भएको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आज भएको उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो ।
उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिन सम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानी आगामी दिनमा कार्वाही नगर्ने, २९ मई २०१६ मा भएको सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने, प्रत्येक मजदुरलाई रु २ लाखका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्ने जस्ता मागहरु सम्बोधन गर्ने लिखित सहमति गरेको छ । छलफलमा  मउवासंघका अध्यक्ष न्यौपानेले आज भएको सहमति कुनैपनि पक्षले वेवास्ता गरे उद्योग वाणिज्य संघ पनि त्यसको विरुद्धमा जाने चेतावनी समेत दिएका छन् । केही दिन देखि उद्योग बन्द हुँदा आज सम्म करीब ६० करोड रुपैया नोक्सान भएको उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले बताए ।

उद्योग व्यवस्थापन र मजदुरहरुलाई संघको सामुन्ने लिखित सहमति गराएर आजै श्रम विभागमा सो सहमति प्रमाणित गराउन हस्ताक्षरित पत्र पठाईएकोछ । श्रमले आज प्रमाणित गरिदिए भोलिबाटै उद्योग सञ्चालनमा आउने छ । छलफलमा उद्योग संघका अध्यक्ष नवराज अर्याल, मउवासंघका महासचिव महेन्द्र राउत, मजदुरका तर्फबाट जयराम धिताल, रविबाबु मल्ल, लालकृष्ण प्याकुरेल, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा, उद्धवप्रसाद पहाडी, चितबहादुर विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।

No comments

Powered by Blogger.