Header Ads


नेपाल प्रहरीलाई बम हान्दा मृत्यु भएका भारतीय नागरिक नेपालका सहिद हुदै

बीरगञ्जमा कात्तिक १९ गते नेपाल प्रहरीलाई पेट्रोलबम हान्ने क्रममा मृत्यु भएका भारतीय नागरिक आशिष राम नेपालका सम्मानित ‘सहिद’ घोषित हुने भएका छन् । सत्तारुढ दल माओवादी–कांग्रेस र मधेसी मोर्चाबीच भएको सहमति बमोजिम मन्त्रिपरिषद बैठकले उनलाई नेपालको सहिद घोषणा गर्ने भएको हो । 

नेपालमाथि नाकाबन्दी लगाउँदा भारततिरबाट नेपाली प्रहरीलाई पेट्रोलबम हनेवापत नेपालले सहिदको रुपमा सम्मान दिएर परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउनु परेको हो । नाकाबन्दी लगाइदिएवापत कृतज्ञ भएर नेपाल सरकारले यस्तो सम्मान दिंदा सरकारका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालको परिभाषा अनुसार छिमेकीसँग ‘सन्तुलित सम्बन्ध’को सुरुवात हुन्छ । दाहालको गठबन्धन सरकारले थालेको यो कामले सन्तुलित सम्बन्धका लागि नाकाबन्दी नगरी नहुने काम हो भन्ने स्थापित भएको छ । नाकाबन्दीमा उल्लेख्य योगदान गरेवापत नाकाबन्दी खेप्ने देश नेपालले नै खुसी भएर आफ्नो प्रहरीबिटमा पेट्रोलबम हान्नेलाई सहिद घोषणा गर्ने संसारकै नमुन घटना हो ।

 नाकाबन्दीबाट पाठ सिक्दै वैकल्पिक आपूर्ति मार्ग खोल्ने ओली सरकारको कामलाई अहिलेको सत्ता गठबन्धनले छिमेकी चिढ्याएको भन्ने आरोप लगाएको थियो । छिमेकी भारत नेपालको संविधानसभाले संविधान घोषणा गरेकाले चिढिएको थियो । चिढिएको छिमेकीले मधेसी मोर्चालाई शिखण्डी थापेर नाकाबन्दी लगाएको थियो । माग मधेसी समुदायको भन्दै तेस्र्याइएको, मोर्चाका नेतालाई सत्ताभोग र भारतलाई आफूले भनेजस्तो नभए नाकाबन्दीले सास थुनेर आफ्ना स्वार्थमा सही गराउने प्रणाली चाहिएको थियो । मधेसी जनताका समस्या जेसुकै होउन्, भारतले जतिबेला निर्देशन दिन्छ त्यतिबेला संसदमा आएर भोट हाल्दै अरुबेला सीमानामा बसेर नेपालतिर ढुंगा हान्ने दस्ता तयार गरिएको थियो । रक्सौलको मेसमा मासुभात खाएर नेपालतिर पेट्रोलबम र ढुंगा हान्दा प्रहरीको गोली लागेका भारतीय आशिष राम त्यसैको शिकार भएका थिए ।

वर्तमान प्रधानमन्त्री दाहालको अहिलेको परिभाषामा भारतले आफ्ना स्वार्थ पूरा गर्न नेपालीको सास थुन्नेगरी नाकाबन्दी लगाउनु ‘सन्तुलित छिमेक नीति’ हो । एउटा छिमेकीले सास थुन्दा सास फेर्ने नयाँ बोटो खोल्नु ‘असन्तुलित’ नीति र अझ ‘अपराध’ हो । त्यही ‘अपराध’मा ओली प्रधानमन्त्रीबाट हटाइएका थिए ।

 आफ्नो संविधान आफैं बनाएवापत लगाएको नाकाबन्दीमा योगदान गरेका भारतीय नागरिकलाई सहिद घोषणा गर्ने सहमति गरेर कांग्रेस माओवादी गठबन्धनले नाकाबन्दीप्रति कृतज्ञता जाहेर गरेको छ अर्थात नाकाबन्दीको गुन तिरेको छ । अहिले सहिद घोषणा गर्ने तयारी गरिएका भारतीय नागरिक आशिष रामले प्रहरी कार्यालयमाथि आक्रमण गर्न लाग्दा प्रहरीले जवाफी कार्बाही चलाएको रिपोर्ट गृह मन्त्रालयमा छ । कात्तिक १९ गते नै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले आफ्नो देशको नागरिक मारिएको घटनावारे विवरण माग्दा नेपाल सरकारले घटनाको भिडियो फुटेज पनि सार्वजनिक गरेको थियो ।


यो प्रकरणले ‘सन्तुलित छिमेक नीति’का नयाँ ब्याख्याकार पुष्पकमल दाहालले आफ्नो सास थुन्न आउनेलाई क्षतिपूर्तिसहित सम्मान गरेर पीडा दिएवापत उच्च सम्मान गर्नु पर्ने न्यायको नयाँ परिभाषा पनि प्रतिपादन गरेका छन् । भारतीय नम्बर प्लेटका गाडीमाथि प्रतिबन्ध लगाउनु पर्ने मागमा ‘जनयुद्ध’ सुरु गरेर १७ हजार नेपालीको बलि चढाउन सफल दाहालको राष्ट्रिय स्वाधीनताको परिभाषा जनमानसमा आएको छ । नाकाबन्दीको कष्ट ब्यहोरेर नेपालले बनाएको स्वाधीनताको उचाइलाई पाताल पुर्याएर दाहाल सरकार मार्फत प्रतिगमनको पहिलो खुट्किलो पार भएको छ ।

No comments

Powered by Blogger.