Header Ads


भारतबाट फर्केपछि पशुपति शमशेरले सरकारबाट बाहिरिन दबाब दिए : कमल थापा

 साउन २६/
राप्रपा नेपालका अध्यक्ष कमल थापाका अनुसार राप्रपासँग उनको पार्टीको एकता पहिलेदेखि नै ‘धर्मराएको’ थियो। केपी ओली नेतृत्वको सरकारमा रहेका यी पूर्व पञ्चहरुका दुबै पार्टीबीच साउन २५ गते पार्टी एकीकरण हुने सहमति थियो।

तर, अघिल्लो दिन राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट दुई मन्त्री पठाएपछि एकता तुहिएको हो। एकता हुन नसक्ने परिस्थिति सिर्जना हुनुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति र राणाको ‘सत्ता स्वार्थ’ मुख्य कारण रहेको थापाले दाबी गरेका छन्।

पार्टी एकीकरणको कसरतमा जुटिरहेकै बेला साउन ८ गते राप्रपाले केपी ओली सरकारबाट फिर्ता हुने निर्णय निर्णय गरेको थियो। एकै धारमा बग्न खोजेकै बेला ओली सरकारको बचाउमा राप्रपा नेपाल र विरुद्धमा राप्रपा उभिएपछि सम्बन्ध चिसिन थालेको थियो। ओलीमाथि दर्ता भएको अविश्वास प्रस्तावको समर्थनमा राप्रपा उभिएपछि टकराब चुलिँदै गयो। 

त्यतिबेलै एकीकरणको सम्भावना विस्तारै धमिलिँदै गएको थापाले सुनाए। ‘माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि राणाजी हतार–हतार भारत भ्रमण छोट्याएर आउनुभयो,’ थापाले भने, ‘यता आएपछि उहाँका गतिविधि भिन्दै देखिन थाले, उहाँलाई कुन शक्तिले के गर्यो त्यो विस्तारै खुल्दै जाने छ।’ 

भारतबाट फर्केपछि राणाले दुई पार्टी एक गराउन लागिपरेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब दिएको थापाको आरोप छ। उनले दबाब दिएलगत्तै राप्रप्रा सरकारबाट बाहिरिएको थापाको आरोप छ।

राप्रपा सरकारविरुद्धको अविश्वासको प्रस्तावको समर्थनमा उत्रिएपछि एकीकरण तुहिने सम्भावना बढ्दै गएको उनले बताए। तर, फेरि असार १२ र १३ गते चन्दकै पहलमा सहमति बनेपछि साउन २५ गते दुई पार्टी एकीकरण हुने घोषणा गरिएको थापाले बताए।

‘आफू सहभागी सरकार बिरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्दा एकीकरण बिथोलिन सक्छ भनेर मैले भनेको थिएँ,’ थापाले भने, ‘तर, अविश्वास प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गर्दा पनि राप्रपाले परामर्श गरेन।’

‘त्यतिबेलै आशंका बढ्यो, एकताको तयारीमा रहेका दुई दल सरकारको पक्ष र विपक्षमा मतदान गर्ने अवस्था आयो,’ थापाले भने, ‘प्राविधिक रुपमा एकता प्रक्रिया अन्त्य भइसकेको थियो।’

पछिल्लोपटक चन्दको पहलमा दुई तीनपटक वार्ता हुँदा दाहाल नेतृत्वको सरकारमा जाने नजाने विषयमा एकीकरण भइसकेपछि निर्णय गर्ने सहमति बनेको थापाले बताए। थापा आफैंले भने दाहाल सरकारमा जाने नजाने विषयमा पदाधिकारी बैठक बोलाएर निर्णय गराएका थिए।

थापाले पछिल्लो समय जनताले आफ्नो निर्णय आफैं गर्न थालेपछि रिसाएका राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिका कारण पनि यस्तो भएको गुनासो गरे। पहिलेदेखि नै नेपाली जनताको निर्णायकत्वमा बाह्य शक्ति हावी भएको उनले बताए। राजा महेन्द्र र बीपीको पहलमा त्यो निर्णायकत्व नेपालमा स्थापित भएको उनले बताए।

तर, २०६२ मंसिरमा निर्णायकत्व दिल्लीमा खोसिएको थापाले बताए। १२ बुँदे सम्झौता त्यसैको उपज भएको थापाले बताए।

संविधान जारी हुने बेलामा भारतको हस्तक्षेपकारी भूमिकाको बिरोध माओवादी पार्टीले रणनीतिक लाभका लागि मात्र गरेको हो कि के हो भनेर थापाले प्रश्न गरे।

‘मलाई बढो आश्चर्य लाग्छ, मैले प्रचण्डजीलाई सोधेको पछि छु, उहाँको बैठक कोठामा दुई–दुई जना भूतपूर्व प्रधानमन्त्री समेत सँगै बसेका बेला भारतीय विदेश सचिव आएर उपरखुट्टी लगाएर जे जस्ता कुरा सुनाएछ, तपाईंहरूले सायद सुनिसक्नुभएको छ,’ थापाले भने, ‘हामी नभएको भए तिमीहरू जंगलमा हुन्थ्यौं। राजालाई पाखा लगाउने काममा हामीले तिमीहरूलाई सहयोग नगरेको भए तिमीहरू कहाँ हुन्थ्यौ भनेर संविधान जारी गर्ने कुरालाई पर सार भनेर लाजिम्पाटमा जुन आदेश दिएका थिए, त्यो आदेशको अवज्ञा भित्रैदेखि राष्ट्रियताको भावनाले ओतप्रोत भएको थियो वा तत्कालीन परिस्थितिजन्य कारण थियो, त्यो अझ पनि म भन्न सक्दिनँ।’

थापाले त्यो आदेश पालना गर्न एमालेलाई पनि धम्की आएको र उसले पनि अवज्ञा गरेपछि कांग्रेस लतारिएको बताए। ‘कांग्रेस  प्रभावित भइसकेको थियो, जब एमाले र माओवादीले लतारेर ल्याएपछि सुशील कोइराला भाग्न सक्ने स्थिति भएन,’ थापाले भने, ‘त्यसरी अचानक आफ्नो निर्णायकत्व संविधान जारी गर्ने बेलामा स्थापित भयो। संविधानको पक्षमा भोट नहाले पनि त्यसलाई मैले एउटा गौरबपूर्ण क्षणको रुपमा लिएको थिएँ।’

थापाले ‘राष्ट्रवादी प्रजातान्त्रिक शक्ति’ निर्माणको अन्तिम समयमा राणाले धोका दिएको बताए। मंगलबार यहाँ पत्रकार सम्मेलन गरेरै अध्यक्ष थापाले अहिले तत्कालका लागि राप्रपासँग पार्टी एकीकरणको ढोका बन्द भएको पनि बताए। यद्यपि, राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणमा आफू जुटिरहने थापाले बताए।

पार्टी एकीकरणका लागि सबै तयारी भइसकेको अवस्थामा राणाले देशैभरिका शुभचिन्तक र पार्टी कार्यकर्तालाई निराश पारेको बताए। थापाले यो सबै दोष राणाकै भएको बताए।

‘राप्रपासँग अहिले तत्कालका लागि पार्टी एकीकरणको अध्याय समाप्त भएको छ,’ अध्यक्ष थापाले भने, ‘यो नितान्त राणाजीको कारणले गर्दा भएको हो।’ राप्रपा नेपाल र राप्रपाबीच मंगलबारै पार्टी एकीकरणको तयारी थियो।

‘राणाजीले सामान्य शिष्टाचार, मर्यादा र राजनीतिक चरित्रको पनि ख्याल गर्नुभएन,’ थापाले भने, ‘राष्ट्रियताको संरक्षण, सम्बद्र्धन र सनतान हिन्दु धर्मको रक्षाका लागि म वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माणमा जुटिरहने नै छु।’

राणाले सोमबार अपराह्न आफ्नो पार्टीबाट दुई जनालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पठाएका थिए। सोमबारै राणाले विधानमा अस्पष्टता रहेको भन्दै एकपक्षीय पार्टी एकीकरण हुन नसक्ने जनाएका थिए।

थापाले विधानमा अस्पष्टताका कारण हैन सत्ताका कारण एकीकरण प्रभावित भएको बताए। ‘सरकारमा मन्त्री पठाउने बाध्यता छ भनेर भन्नुभयो, उहाँको बाध्यता के थियो थाहा छैन,’ उनले भने, ‘तर, उहाँले राजनीतिक बेइमानी गर्नुभयो, झुट बोल्नुभयो, विधानमा अस्पष्टता थियो भने मिलाउन सकिन्थ्यो।’

थापाका अनुसार सोमबार बिहान एकपटक राणासँग भेट भएको थियो। राणाले आफैंले बोलाएपछि नै आफू भेट्न गएको थापाले बताए। भेटमा राणाले दुई जना मन्त्री सरकारमा पठाउनैपर्ने बाध्यता आइलागेको बताएका थिए।

‘दुई जना मन्त्री सरकारमा पठाउनैपर्ने बाध्यता आइलागेको कुरा बडो लाचारीका साथ भन्नुभयो,’ थापाले भने, ‘यसले पार्टी एकीकरणमा कस्तो असर पर्छ भनेर भन्नुभयो, मैले एकीकरण धरासायी हुन्छ भन्दिएँ।’

थापाका अनुसार सरकारमा जाने नजाने विषयको टुंगो एकीकरणपछि गरौं भन्ने सहमति भइसकेको स्थितिमा अन्तिम समयमा राणाले एकीकरणको पक्षमा आफैंले गरेको हस्ताक्षर बिर्सेको आरोप लगाए।

No comments

Powered by Blogger.