Header Ads


के धामीझाँक्रीले रोग निको पार्छन् ?

–डा. कपिलदेव उपाध्याय, 
वरिष्ठ मानसिक रोग विशेषज्ञ

एक मनोचिकित्सकको नाताले मैले लामो समयदेखि विभिन्न मानसिक स्वास्थ्य समस्या भएका बिरामी हेर्दै र उपचार गर्दै आएको छु । बिरामीका परिवारले धामीझाँक्रीलाई पहिले देखाउने र उपचार हुन नसके मात्र डाक्टरलाई देखाउने चलन छ  । मैले हेर्ने बिरामीमध्ये ९०  प्रतिशतभन्दा बढीले त पहिले धामीलाई देखाइसकेकै हुन्छन् । तीमध्ये कतिपयले ‘पहिले बिरामी हुँदा धामीले निको पारेका थिए, यसपटक नभएर ल्याएको’ पनि भन्छन् । यदि मानसिक स्वास्थ्य समस्या हो भने पहिलोपटक कसरी निको भयो र यसपाली किन निको भएन भन्ने प्रश्न मनमा उठ्यो र केही धामीझाँक्रीलाई नै भेटेर अन्तरवार्ता लिएँ र केही समय अनुसन्धान नै गरें ।
धामीझाँक्री, जान्ने लामा, झारफुक गुरुवा, गुभाजु, माता आदि विभिन्न नामले चिनिने उनीहरु मध्ये धेरैको सेवा निःशुल्क हुने वा आफुखुसी दिए केही लिने रहेछ । कसै–कसैले बिरामी निको पार्ने ग्यारेन्टी लिने र ठूलै रकम हात पार्ने रहेछन् । ढ्याङग्रो ठटाएर देउता बोलाउने र बिरामीलाई बकाउने गर्नेहरुले पुजाको सामान, बली, खानपिन आदि गरेर विशेष दिन रातीको समयमा हल्लिनेरबकाउने गर्दा रहेछन् । नामी झाँक्री र माताकहाँ सधैंजस्तो उपचार गर्न आउनेहरु त धेरै नै हुने रहेछन् ।
जसले निको पार्छ भन्ने विश्वास छ, त्यहीँ बिरामी जाने हुनाले धामीझाँक्रीकहाँ जाने धेरै बिरामीलाई फाइदा हुने रहेछ भन्न सकिन्छ । होइन भने किन धामीझाँक्रीकहाँ जाने त ? यही मेरो मनोविज्ञान र खोज थियो । विशेषगरी, साधारण खालका मानसिक स्वास्थ्य समस्यामा सञ्चो हुन्छ भन्ने विश्वासले काम गर्दो रहेछ ।
मेडिकल साइन्समा औषधिले रोग निको पार्न सक्छ कि सक्दैन भनेर अनुसन्धान गर्दा बिरामी भएका व्यक्तिको २ वटा समूह बनाइ एउटा समूहलाई परीक्षण गरिने औषधि र अर्को समूहलाई हेर्दा औषधिजस्तै देखिने तर विना औषधिको चक्की शरीरलाई नोक्सान नगर्ने र फाइदा पनि नगर्ने तत्व दिइन्छ । दुवै समूहलाई अरु परीक्षण गर्ने, कुरा गर्ने, रोग घटबढ के भएको छ सोध्ने आदि सबै उस्तै गरिन्छ र अनुसन्धानको अवधि सकिएपछि रिजल्ट हेरिन्छ । यस्ता धेरै अनुसन्धानहरुमा दुवै समूहका बिरामीको रोग कम भएको वा निको भएको कम्तिमा ३० प्रतिसत भेटिएको हुन्छ । वास्तविक औषधी खानेमा यो प्रतिसत ४० वा ५० पनि पुग्न सक्छ । तर औषधिजस्तै देखिने चक्की वा क्याप्सुल खानेहरुमा पनि ३० प्रतिसत रोग कम भएको वा निको भएको भेटियो । अनुसन्धानकर्ताहरुले औषधिजस्तै देखिने चक्की (प्लासिबो) खानेहरुलाई राम्रो भएको कारण ‘प्लासिबो इफेक्ट’ हो भन्ने निष्कर्ष निकाले । प्लासिबो इफेक्ट भनेको ः
–    बिरामीलाई गरिने परीक्षण, उनीहरुलाई गर्ने व्यवहार आदि दुवै समूहमा उस्तै भएकाले त्यसको सकारात्मक असर प¥यो ।
–    औषधिले निको पार्छ भन्ने सकारात्मक विचारले रोग कम गर्न वा निको पार्न सहयोग ग¥यो ।
–   रोग आफै निको भएको र उपचारको जस पाएको कुरा बुझ्न गाह्रो भएन ।
यस्तै, ‘नोसिबो इफेक्ट’ भन्ने पनि छ जुन प्लासिबो इफेक्टको ठीक उल्टो हो । अर्थात् दुवै समूहका बिरामीलाई रोग निको हुँदैन भन्ने सोचाइ भएमा रोग दुवै समूहका केही प्रतिशतलाई फाइदा हुँदैन । दुवै खालका इफेक्टकै कारण चिकित्सकका जँचाउन आउने बिरामीमध्ये कतिलाई २÷३ दिनमै फाइदा पुगेको देखिने हुन्छ भने कतिलाई फाइदा नै हँुदैन । मेडिकल साइन्समा देखिने यो प्लासिबो इफेक्ट धामीझाँक्रीले गर्ने उपचारमा पनि लागू हुनेरहेछ । उपचार गराउन जाने कम्तीमा ३० प्रतिसत बिरामीलाई त रोग कम हुने वा निको हुने रहेछ । यसको अर्को पक्ष पनि छ । जति बढी नाम चलेको चिकित्सक हुन्छ, उति बिरामीको बढी विश्वास हुन्छ र निको हुने सम्भावना त्यति बढ्छ । नाम चलेका झाक्री वा माताहरुको हकमा पनि यही कुरा लागु हुन्छ ।
हामीहरु प्रायः सकारात्मक र नकारात्मक विचारहरुको कुरा गर्छौं । बिरामीलाई निको हुन्छ भन्ने विश्वास गर्नुस्, भरोसा गर्नुस् भन्ने चलन छ । वास्तवमा आस्था र विश्वासले कतिपय रोग निको पार्न निकै सहायक हुन्छन् यसबारे केही पछि चर्चा गर्नेछु ।
–    मैले उपचार गरेका केही ‘प्यानिक अट्याक्स’ का बिरामीहरुले भन्ने गर्नुभएको छ, ‘मलाई मन आत्तिएला जस्तो लाग्यो भने तपाईलाई भेट्न अस्पताल आउँछु, यहाँ आएपछि आफैँ ठीक हुन्छ र एकछिन यहाँ बसेर घर फर्किन्छु ।’
–    अस्पतालको इमर्जेन्सीमा कतिबेला पुगौं जस्तो लाग्छ, त्यहाँ पुग्नेबित्तिकै आत्तिने आफैँ हराउँछ ।
–   मध्यरातमा निन्द्रा खुल्यो भने यस्तो बेलामा केही भयो भने कसरी अस्पताल जाने भन्ने डर लाग्छ । तर दिनमा मन ढुक्कै हुन्छ ।
यहाँ बिरामी भएमा सहायता पाउँछु भन्ने मनोविज्ञानले काम गरेको छ । हाम्रो चित्तलाई मनोविज्ञानमा पूरै होस भएको चेतन मन, अर्धचेतन मन र अचेतन मनमा विभाजन गरिएको छ । भनिन्छ हाम्रो जीवनमा १० प्रतिशत होस भएको चित्तले काम गरेको हुन्छ । उदाहरणका लागि साइकल, मोटर साइकल वा गाडी राम्रोसँग सिकेर चलाउन जानेपछि मैले चलाइ राखेको छु वा ब्रेक लगाएँ वा घुमाएँ भन्ने याद नगरिकन सबै आफैँ वा अटोमेटिक भइराखेका कामहरु हुन्छन् । सबै अर्धचेतन मनबाट भइराखेका हुन्छन् । हामीले खाना खाँदा, हिड्दा, नुहाउँदा ब्रस गर्दा, कपडा फेर्दा सबै आफैँ भैराखेका हुन्छन् । कसैलाई त खाना खाइसकेपछि पनि कस्तो थियो याद हुँदैन, यादै भए पनि थोरै याद हुन्छ ।
अर्धचेतन मनबारे ज्यादै महत्वपूर्ण कुरा के हो भने यो चित्त चेतनभन्दा पनि लाखौं गुणा शक्तिशाली हुन्छ । हामीभित्र हुने रिस, लोभ, डर, घृणा आदि यही हुन्छन् । त्यहाँ रहेका रिस डरलाई त्यति सजिलै चिन्न र थाहा पाउन सकिन्न र तिनीहरुले हाम्रो बोली, बानी व्यवहार, इच्छा आकांक्षामा प्रभाव पारिरहेका हुन्छन् । त्यसैले कतिपय कुरा गर्छौं र त्यो भैसकेपछि पछुताउछां अर्थात् धेरै कुरा अटोमेटिक हिसाबले गाडी मोटरसाइकल चलाएजस्तै गरेर भै राखेका हुन्छन् । मनोवैज्ञानिक उपचार विधि विभिन्न किसिमका साइकोथेरापीमा यिनै अर्धचेतन मन  चित्तका दबिएका विचार, भावनालाई चेतन मन वा होसमा ल्याउने काम गरिन्छ ।
आजकल केही ध्यान विधिहरु खास गरेर स्मृति ध्यानबाट पनि अर्धचेतन मनका कुराहरु र समस्यालाई चिन्न सकिन्छ । मनोविज्ञानको कुरा गर्दा डाक्टरको छोराछोरी प्रायः डाक्टर बन्ने, राजनीतिज्ञका छोराछोरी राजनितिमा लाग्ने, व्यापारीका छोराछोरीले व्यापारमा चाख राख्ने र कलाकारका छोराछोरीहरु त्यतैतिर लाग्ने गरेको देखिन्छ । यस्तो आखिर किन र कसरी त ?
मस्तिष्कलाई ठूलो कम्प्युटर मानिएको छ । केटाकेटी अवस्थादेखि नै बालबालिकामा घरको वातावरण, कुराकानी, जीवनशैली आदि बाबुआमाबाट कम्प्युटरमा प्रोग्रामिङ हुने रहेछ या भनौं प्रोग्राम डाउनलोड हुनेरहेछ । कम्प्युटरमै प्रोग्रामिङ भएका कारण बहुसंख्यकहरुको आकर्षण त्यसतर्फ हुँदोरहेछ ।
घरमा बाबु वा आमालाई कुनै रोग लागे त्यसको मनोवैज्ञानिक असर छोराछोरीमा पनि पर्दो रहेछ । पहिले कतिपय परिवारमा भएका रोग जस्तै रक्तचाप, मधुमेह, हृदयाघात आदि जिनसंग सम्बन्धित हुन्छन् भन्ने थियो र अहिले पनि छ । तर यस्ता रोग हुनसक्ने कारणमा वातावरणको असर र अर्धचेतन मनमा रहेको डरको कारण पनि हो । वास्तवमा यो रोग लाग्छन् कि ? भन्ने अर्धचेतन मनभित्रको डरले मूर्त रुप लिन पनि सक्छ । किनकि त्यो डर, त्यो विचार निकै शक्तिशाली हुन्छ ।
पहिलेको विश्वास मानिस जन्मिदैँखेरि उसको भविष्य निर्धा्रित हुन्छ, कर्म अनुसार हुन्छ, जिन्सअनुसार हुन्छ र केही पनि बदल्न सकिन्न भन्ने धारणा सही होइनन् । वातावरणीय प्रभाव, पिउने पानी, हावा, खानपान, जीवनशैली, मानसिक तनाव सबैले स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पारेका हुन्छन् । आफूले कस्तो कर्म गरिन्छ त्यसअनुसार फल पाइन्छ ।
लगातारको मानसिक तनावका कारण धेरै किसिमका स्वास्थ्य समस्या उत्पन्न हुन्छन् भन्ने छ र तनावको व्यवस्थापन स्वस्थ जीवनको महत्वपूर्ण अंग भैसकेको छ ।
धामी झाँक्रीको उपचार÷फुकफाकमा विश्वास भएमा केही सामान्य खालका मानसिक स्वास्थ्य समस्या निको हुने वा कम हुने हुँदा रहेछन् भन्ने कुरा ग¥यौं । यससँगै कडा खालका स्वास्थ्य समस्या चाहे शारीरिक हुन् वा मानसिक, विश्वास गर्दैमा झारफुकले कम हुँदैनन् । विशेषज्ञसँग उपचार गराउँदा उचित औषधिको प्रयोगका साथसाथै सकारात्मक सोच र निको हुन्छ भन्ने विश्वासले निको हुनमा  निश्चय पनि सहयोग गर्नेछ । कतिपय कडा खालका रोग निको नहुने पनि हुन्छन् ।
धामीझाँक्रीको कुरा गर्दा एउटा डरलाग्दो वास्तविक घटना मलार्ई याद आउँछ । २०र२२ वर्ष अघिको कुरा हो । एकजना १९र२० वर्षकी महिला बेहोस भएको अवस्थामा अस्पतालको इमरजेन्सी कक्षमा ल्याइयो  ।  हिस्टेरिया हो कि भन्ने शंका गरेर मलाई हेर्न र जाँच गर्न बोलाइयो । ती महिला २ दिनदेखि बेहोस रहिछन् । धामीले लुछ्ने र डाम्ने गरेकाले पोलिएका डाम शरीरका विभिन्न भागमा थिए । त्यतिगर्दा पनि महिला होसमा नआएपछि अस्पताल ल्याएका रहेछन् । उनको परीक्षण गर्दा मेनिन्जाइटिसका लक्षण थिए । तुरुन्तै फिजिसियनलाई बोलाएर सल्लाह गरेर अस्पताल भर्ना गरियो । थप परीक्षण गर्दा मेनिगोंकोकल मेनिन्जाइटिस भएको निश्चित भयो । त्यसको उपचार गर्दा २ हप्तामा निको भएर उनी घर गइन् । ढिलो भएको भए र राम्रो उपचार नपाएको भए उनको ज्यान जान्थ्यो । कडा खालको रोग रहेछ भने धामी झाँक्रीलाई देखाउँदा के हुन्छ भन्ने यो एउटा उदाहरण हो ।
कुटपिट गरेर, डराउन दिएर, तर्साएर, डामेर, पानीमा डुबाएर निस्सासिन हालेर, सिस्नो लगाएर यातना दिएर रोगको उपचार गर्छु भन्ने धामीझाँक्री पनि हुने रहेछन् । यी कुरा पनि बिरामी वा उनका आफन्तले बताएर थाहा पाएको हुँ । यस्तो यातना दिएर डर र त्रासको भरमा रोग निको पार्न खोज्नु अपराध नै हो । बोक्सी भनेर अखाद्य वस्तु जबरजस्ती खुवाउने र यातना दिनेजस्ता समाचार बेला बेलामा आउछन् । खास गरेर मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचारका नाममा यस्ता यातना पनि केही धामीझाँक्री भनाउँदाहरुले गर्ने रहेछन् । यस्ता ढोंगीबाट बच्न र सतर्क हुन जरुरी छ । कडा खालका मानसिक स्वास्थ्य समस्या हँुदा चिकित्सकसँग रायसल्लाह लिने र आवश्यकताअनुसार विभिन्न उपचार विधि अपनाउन सकिन्छ । मानसिक स्वास्थ्य समस्या भए एक महिनाभित्रै उपचारबाट हुने फाइदा थाहा पाउन पनि सकिन्छ । कतिपय औषधिले ढिला काम गर्छन् त्यही भएर समय लाग्ने हो ।
बिरामी पर्दा भूतप्रेत, मसान, वनझाँक्री, नागदेवता लाग्यो कि भनेर धामीझाँक्री देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रहदशा ठीक छन् छैनन् भनेर हेर्ने चलन छ । ग्रहदशा बिग्रेको देखिए पुजाआजा गरिन्छ । नेपालमा अहिले पनि करिब ५ लाख धामीझाँक्री छन् र प्रत्येक गाउँमा कोही न कोही झारफूक गर्न जान्ने व्यक्ति भेटिन्छन् । आफ्नो घरनजिकै वा केही टाढा भए पनि एकपटक झाँक्रीलाई देखाउने र उनीसँग उपचार गराउने चलन प्रसस्त छ । नेपालमा सयौं वर्षदेखि चल्दै आएको यो चलन र यसका फाइदा बेफाइदाबारे थाहा पाउनु आवश्यक छ ।

No comments

Powered by Blogger.