अन्तत: डा. पोखरेल बने निमित्त आइजीपी
फागुन २, काठमाडौं
प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिइएको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । पोखरेल प्रहरी अस्पताल प्रमुख थिए ।
बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । गृहमन्त्री निधिले बैठकमा नियमावली संशोधनको प्रस्ताव राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निवर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले सोमबार साँझ अवकास पाएका छन् । अर्याल प्रहरी प्रधान कार्यालयबाट औपचारिक रुपमा विदा भइसकेका छन् ।
सरकारले आइतबार डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यद्यपि प्रहरी प्रमुख नियुक्ति प्रक्रियाविरुद्ध शुक्रबार परेको रिटमा सर्वोच्चले आइतबारै निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । मुद्दाको पेशी ८ गतेका लागि तोकिएको छ ।



No comments