२५ मिटर भित्र पर्ने १४ सरकारी कार्यालय १० दिन भित्र भत्काउन पत्र
डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा ११ थानाभर्याङबाट हेटौँडा ९ औद्योगिक क्षेत्रभित्र पर्ने १४ वटा सरकारी कार्यालयलाई १० दिन भित्र सडकको २५ मिटर भित्र पर्ने आफ्ना सम्पूर्ण संरचना भत्काउन पत्रचार गरेको छ ।
२५ मिटर प्रकरणले हेटौँडा तरङ्गीत बनेको समयमा डिभिजनले गरेको पत्रचारले हेटौँडामा थप तरंग पैदा भएको छ । बुधबारबाट लागु हुनेगरि १० दिनभित्र राजमार्ग क्षेत्रको २५ मिटर भुभागमा पर्ने सम्पूर्ण संरचना हटाउन पत्रचार गरिएको डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले बताए ।
अधिकारीले राज्यले सुरु गरेको अभियानलाई सम्पन्न गर्न प्रथमत थानाभर्याङबाट हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका १४ सरकारी कार्यालयको संरचना भत्काउन पत्रचार गरिएको बताए ।
पत्रचार गरिएको कार्यालयहरुमा जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेवि इकुमेन्ट, हेटौँडा अस्पताल, जिल्ला हुलाक कार्यालय, नेपाल टेलिकम, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । त्यसैगरि नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा औद्योगिक ब्यवस्थापन कार्यालय रहेको छ ।
पत्रचार गरेको १० दिनभित्र ति कार्यालयहरुले २५ मिटर भित्र पर्ने आफ्ना संरचना नहटाए क्षेत्रीय प्रशासन कार्यालय तथा जिल्ला प्रशासन कार्यलयको सहयोगमा आफुहरुलेनै डोजर प्रगोग गरि संरचना भत्काउन वाध्य हुने समेत अधिकारीले बताए ।
२५ मिटरको विषयमा कुरा गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख विनोद केसीले राज्यले सुरु गरेको कामलाई अबरोध गर्न खोजे कानुन बमोजिम कारबाही गरिने बताए । अबैधानिक रुपमा निर्माण भएका भवनहरुलाई यो या त्यो बाहानामा भत्काउन दिन्न भन्नु गैरजिम्मेवारीपन भएको बताउँदै प्रशासक केसीले २५ मिटर फराकिलो पार्ने अभियानमा कुनै कसुर बाँकी नराख्ने बताए ।
सडकले पत्रचार गरेको सम्पूर्ण कार्यालयलाई आफुले पनि सम्पर्क गरेको भन्दै उनले १० दिन भित्र नभत्काए उनीहरुलाई कानुनी कारवही गरिने चेतावनी समेत दिएका छन् ।


No comments