Header Ads


तीजको तडकभडकः संस्कृति कि विकृति ?

-वसुधा नेपाल पोखरेल
परम्परादेखि मानिँदै आएको तीजलाई हिन्दु महिलाहरुको सौभाग्यको प्रतीकको रुपमा लिइन्छ । तीज भन्ने बितिक्कै महिलाहरुको मन प्रफुल्लित हुन्छ । पुरातन कुरा मान्दिनँ भन्नेहरुले पनि यसलाई आफ्नो ‘पति’ प्रति श्रद्धा र प्रेम दर्शाउने पर्वका रुपमा लिन्छन् ।

महिलाहरूको लागि खुसियाली मनाउने पर्व हो । पहिले-पहिले बुहारीहरू वर्षैभरि घरधन्दाको व्यस्त जीवनबाट २र४ दिनको लागि भए पनि मनको धोको खोलेर रमाइलो गर्न जाने ठाउँ हो माइती । आमा र दिदीबहिनीसँग मनका कुरा पोख्दै व्रतको अघिल्लो दिन दर खाने र भोलिपल्ट पानी समेत नखाई व्रत बस्ने चलन रहेको हामीले सुन्दै आएका हौं ।

समयको वहाबअनुसार, परम्परामा पनि परिवर्तन हुँदै गएको देखिन्छ । आफ्नो स्वास्थ्यले साथ दिनेले निराहार बसे पनि नसक्नेले पानी, दूध, फलफूल खाएर व्रत बसेको देखिन थालिएको छ । स्वास्थ्यलाई ध्यानमा राख्दै यसो गर्नु मनासिव पनि देखिन्छ ।

प्रसंग ‘दर’ को

भाऽ कृष्ण तृतीयाको दिन विशेषगरी विवाहित महिलाहरूले तीजको व्रत लिने गर्छन् । अघिल्लो रात विभिन्न परिकार बनाई छोरी बुहारीहरुलाई खुवाउने चलन हामीले पहिलेदेखि देख्दै र सुन्दै आएका हौं ।

तीजको व्रतमा दिनभरि भोकै बस्दा कतै गाह्रो हुन्छ कि भनेर अडिलो(दह्रो हुनलाई अघिल्लो दिन खाने गरिएकोले त्यसलाई ‘दर’ र त्यो दिनलाई ‘दर खाने दिन’ भनिएको हुनुपर्छ ।

बढ्दै गएको फेसनले ‘एकदिनको दर खाने’ परम्परालाई तीज आउनु करिब महिना दिन अघिदेखि नै तामझामका साथ मनाउन थालिएको देखिन्छ । यसले हाम्रा नयाँ पुस्तालाई कस्तो खालको सन्देश देला रु हामी कस्तो पुस्ता बन्न खोजेका हौं ?

एकले अर्कासँग प्रतिस्पर्धा जस्तो गरी एक दुई महिना अगाडि देखि नै दरको नाममा विकृति फैलिने गरी कार्यक्रमहरू गरेको पाइन्छ । यो कति राम्रो हो, हामी महिलाले गम्भीर भएर सोच्ने बेला आएको छ ।

भनिन्छ, महिलाहरू संवेदनशील हुन्छन् । दयालु हुन्छन् । सुख दुःखका साथी हुन्छन् । तर, विगत वर्षहरूमा मुलुक रोइरहेको बेलामा पनि हामी तीजको बहानामा छमछमी नाच्यौं महिना दिनसम्म । अनाहकमा नेपाल आमाका सन्तानको हत्या भएको महिना दिन पनि नपुग्दै हाम्रा छमछमी आवाजले तिनका शोकाकुल परिवारको मन कति रोयो होला । ती मनलाई हामीले किन पढ्न सकेनौं रु त्यस्तो बेला कहाँ थियो हाम्रो संवेदनशीलता ?

साथीभाइ सबैको आर्थिक अवस्था कहिल्यै बराबर हुँदैन । तर, एउटा सम्पन्न साथी र परिवारले दरको झकिझकाउ कार्यक्रम गरिरहँदा अर्को विपन्न साथी र परिवारलाई पर्ने मनोवैज्ञानिक असरबारे हामीले कहिल्यै गम्भीर भएर सोचेका छौं त ?

सहर(बजारमा हेर्दा समाजमा आफ्नो फुर्तिफार्ति देखाउने अवसर जस्तो बनेको देखिन्छ तीजको दर । व्यक्तिगत रुपमा फरक-फरक पार्टी आयोजना गरेर क्षणिक वाहवाही कमाएर रमाउनमै हामी व्यस्त भयौं ।

चाडपर्वको नाममा यस्तो विकृति सुरु भएको ८र१० वर्ष भए जस्तो लाग्छ । सुरुमा त हामीकहाँ जसरी जुन बाटोबाट भए पनि पैसा कमाएर परिवार र समाजमा स्थापित हुन खोज्ने प्रवृत्ति छ । यसका लागि श्रीमान्लाई जुन बाटोबाट भए पनि पैसा कमाउन दबाब दिने काम महिलाहरुबाटै भएको देखिन्छ । हुँदा-हुँदा अब आएर तीजको दरको नाममा ठूल्ठूला पार्टी प्यालेस, होटेलमा मान्छे भेला गराउने, गरगहनाको प्रदर्शन र प्रतिस्पर्धा गरेको देखिन थालेको छ ।

त्यस्तो दर कार्यक्रम आयोजना गर्नेहरूले सुरुसुरुमा त परिवारकै सदस्यहरुबाट निकै वाहवाही पाए । फलानी त कस्तो मनकारी ! त्यत्रो मान्छेलाई खान बोलाई । लुगा समेत बाँडी । यस्तो पो हुनु श्रीमती, बुहारी, भाउजू भनेको त १ प्रशंसैप्रशंसाको पोको पाउने मान्छे दंग पर्ने भइहाले । तर, त्यसरी दर खान कसैकोमा जाँदा उपहार पाउनेहरूले पनि कहिल्यै सोचेनन्, उसले त्यत्रो मान्छेलाई सामान बाँड्ने पैसा कताबाट आउँछ रु ती बाँड्ने महिलाले पनि सोचिनन्, यस्तो तडकभडक पार्टी गरे, उपहार बाँडेर मैले ठीक गरिरहेकि छु त रु श्रीमान्लाई जसरी जुनसुकै बाटोबाट पैसा कमाउन उक्साउनु ठीक हो कि होइन ?

क्षणिक वाहवाहीले दूरगामी नकारात्मक असर पर्ला भनेर कहिल्यै सोचेनौं । बिस्तारै यो दर भन्ने कार्यक्रमले विकृतिको विकराल रुप लिदै गएको देखिन थालेको छ नेपालमा । प्रतिस्पर्धाको रुपमा हाम्रो समाजमा स्थापित हुन खोजिरहेको देखिन्छ । फजुल खर्चले गलत बाटोबाट भए पनि आयआर्जन गर्नैपर्ने सामाजिक दबाब बढाएको छ ।

दरको भड्किलो कार्यक्रमहरुमा कतिपय कर्मशील महिला सहभागी नभएका धेरै उदाहरण पनि छन् । त्यस्ता कार्यक्रममा सहभागी नहुँदा र आफूले पनि आयोजना नगर्दा तिनीहरु समाजमा एक्लिएको जस्तो पनि देखिन्छ ।

दर कार्यक्रममा रमाउने र सहभागी नहुने दुई प्रतिनिधि महिला पात्रलाई गहिरिएर हेरौं । जसले समाज र परिवारबाट वाहवाही पाउन यस्तो आडम्बरी कार्यक्रम् गर्छन् र त्यसलाई बढावा दिन्छन् । ती महिलाहरु कार्यक्रम गरेको भोलिपल्टदेखि नै भयभीत हुन्छन् । उनीहरुलाई आफ्नै साथीहरुले समेत कुरा काट्न छोडेका हुँदैनन् । उनीहरूले ‘लोग्नेलाई मनग्ग कमाउन लगाएकी छे, फुर्ति लाउँछे’ भनेर भनिरहेकै हुन्छन् ।

त्यसैले महिलाहरू आफ्नो मूल्यांकन आफैं गरौं । कतै हामी संस्कृतिको खोक्रो आडम्बरमा रमाइरहेका त छैनौं रु हाम्रा छोराछोरीलाई एक महिना अघिदेखि नै दरको कार्यक्रम गर्नुपर्ने रहेछ भनेर गलत परम्परा सिकाइरहेका त छैनौं ?

महिनौंदेखि बिसन्चो भई भई पनि आडम्बरी ‘दर’ मनाइरहेको दृश्य देखिरहेका कलिला सन्ततिको दिमागले दर नै एउटा पर्व हो भन्ने बुझेर मूल पर्व तीज बिर्सेलान् भन्ने डर छ । त्यतातिर हामीले सजग हुनुपर्छ रु ‘दर’ को साम्राज्यमा कसैले हामीलाई बोलाउँदा त्यहाँ गएनौं भने भने पनि बिस्तारै यो विकृति घट्दै जानेछ भन्ने यो पंक्तिकारलाई लाग्छ ।

संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो । तीजको दरलाई आफ्नो माइती र घर-परिवारमा मनाउने गरी सीमित राखेर तीज पर्वको गरिमा जोगाउनु आवश्यक छ ।

सुन्दर मनका सम्पूर्ण महिलाहरुमा आउँदै गरेको हरितालिका तीजको धेरै शुभकामना १ स्वस्थ र सुन्दर रहनुहोस् । आडम्बर त्याग्नुस्, असल भावना राखेर समाजमा नमुना बन्न सक्नुहोस् ।

No comments

Powered by Blogger.