Header Ads


म निको भइसकेको छु, भ्रष्टाचारविरुद्ध शनिबार सडकमा निस्कँदैछुु


चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग माग गर्दै भर्खरै १६ दिन अनसन बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले शनिबार भ्रष्टाचारविरूद्ध पैदलयात्रा गर्ने भएका छन्।

‘सोलिडारिटी फर गोविन्द केसी अलाइन्स’ले संयोजन गर्ने उक्त कार्यक्रममा केसी पैदल हिँड्ने भएका हुन्। शनिबार माइतीघरबाट नयाँ बानेश्वरसम्म केसीसँगै भ्रष्टाचारविरोधी अभियन्ताहरू सडकमा निस्किने कार्यक्रम तय भएको हो।

अनसन तोडिँदा हालै भएका सम्झौता कार्यान्वयन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीमाथि महाअभियोग कार्यक्रमको प्रमुख माग रहेको केसीका सहयोगी जीवन क्षेत्रीले बताए।

अनसन तोडेपश्चात केसी अहिले वार्डमा उपचाररत् छन्। ‘म निको भइसकेको छु, शनिबारको कार्यक्रमबारे साथीहरूले जानकारी दिइसक्नुभएको छ, म भ्रष्टाचारविरूद्ध सडकमा निस्किँदैछु,’ ।

केसीसहित निस्किने पैदल जुलुस संसद भवन अगाडि गएर समापन हुने बताइएको छ। त्यहाँ अख्तियार प्रमुख कार्कीलाई ‘किन महाअभियोगरु’ भन्नेबारे सबै कागजात तयार पारेर सके संसदमै बुझाउने नभए संसद भवनको गेटमा राखिदिने कार्यक्रम छ।

चिकित्सा क्षेत्रको बेथितिमा अख्तियार प्रमुख जोडिए पनि उनको संलग्नतामाथि गम्भीर छानबिन नहुने देखिएपछि अलाइन्सले दबाबमूलक कार्यक्रम गर्न लागेको क्षेत्रीले बताए।

‘सुशासन समितिको बैठक बस्यो, छलफल गर्यो तर काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेपबाहेक लोकमान संलग्न अन्य प्रकरणमा विषय प्रवेश भएन,’ उनले भने, ‘त्यसका लागि दबाब आवश्यक देखिएकाले कार्यक्रम गर्न लागेका हौं।’

सुशासन समितिले अख्तियारलाई डाकेर छलफल गरेको थियो। छानबिन उपसमिति गठन गरेको थियो। उपसमितिले पनि विश्वविद्यालयको परीक्षा हस्तक्षेपमात्र छानबिन गर्ने म्यान्डेट पाएको छ। ‘उपसमितिमा पनि अख्तियारको बचाउ गर्ने मान्छेलाई संयोजक बनाइएको छ,’ क्षेत्रीले भने। 

केसीको आन्दोलन अन्त्य गराउन विगतदेखि नै सम्झौता हुने तर कार्यान्वयनमा जानुको सट्टा सरकारले उल्लंघन गर्ने गरेका कारण पनि दबाब आवश्यक रहेको उनले बताए।

No comments

Powered by Blogger.