बीपी र लेन्डुपको तुलना
देश बेचेर ‘मुख्यमन्त्री’ हुन लालायित छन्, नेपाली लेन्डुपहरु
-
![]() |
|
बीपी र नेपालको स्केच
|
सिक्किमका बाह्रौँ राजा चोग्याल पाल्देन थन्डुप नामग्याल बयालीस वर्षअघि नेपाल आएका थिए, राजा वीरेन्द्रको शुभराज्याभिषेकमा सहभागी हुन । झन्डै साठी देशका राष्ट्राध्यक्ष र प्रतिनिधिमध्ये दुईजनाले मात्र नेपाली भाषा बुझ्थे । ती थिए, सिक्किमे राजा चोग्याल र भुटानकी अधिराजकुमारी आशी वाङ्चुक। त्यसबेला चोग्याल साह्रै बेचैन थिए । आफैँले दरबारमा हुर्काएको लेन्डुप दोर्जेले उनलाई भारतसँग मिलेर दुःख दिइरहेका थिए ।
२०३१ साल फागुन १२ गते सोमबार माघशुक्ल
त्रयोदशी पुष्य नक्षत्र मीनलग्न मैत्रमुहूर्तमा बिहानको ८ः३५ को साइतमा
राजा वीरेन्द्रले शिरमा राजमुकुट पहिरेको दृश्य हेरेपछि सिक्किमका राजा
भावुक बनेका थिए । ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रले टेकेको माटोको
चन्दन लगाएर ‘म सबैलाई बराबरी ठान्छु र देशको धर्म–संस्कृतिको रक्षा गर्छु’
भन्ने वैदिक विधिपूर्वक मन्त्रोच्चारण गर्दै सम्पन्न गरिने विश्वका
एकमात्र हिन्दु राजाको शुभराज्याभिषेक (कोरोनेसन) को वृत्तचित्र ठूलाठूला
राष्ट्र र त्यहाँका सञ्चारमाध्यममा समेत चर्चाको विषय बन्न पुगेको थियो ।
राजा वीरेन्द्रका एकजना पुराना सहयोगी
भन्छन्, ‘चोग्याललाई गान्तोकमा ठूलो खतरा थियो । काजी लेन्डुप दोर्जेले
राजा हटाउने प्रयत्न गरिरहेका थिए । उनको पीडा बुझेपछि वीरेन्द्र सरकारबाट
काठमाडौँमै बस्न आग्रह गरिबक्सेकोे थियो, तर उनले मानेनन् । सिक्किमे
राजाले भने, ‘मर्नु परे पनि आफ्नै देशमा गएर मर्छु ।’
सन् १९६२ मा सिक्किम नेसनल कंग्रेस खोलेर
राजनीतिमा सक्रिय रहेका लेन्डुपले भारतसँग मिलेर सन् १९७५ मा जनमतसंग्रहको
नाटक गराए । ५७ वटा बुथमा मतदान भयो । दार्जिलिङबाट चिया बगानका मजदुरसमेत
लगेर चुनावमा सक्रिय गराइयो । सिक्किममा रहेका भारतीय राजनीतिक अधिकृत एसके
दासले ‘द सिक्किम सागा’ मा सो चुनावको वर्णन गरेका छन् भने त्यहाँको
राजतन्त्र कसरी समाप्त भयो भन्ने विषयमा कलकत्ताका प्रसिद्ध पत्रकार
सुनन्दाकुमारले ‘स्म्यास एन्ड ग्य्राब : एनेक्सेसन अफ सिक्किम’ पुस्तकमा
राजदरबारमा भएको हमलाको समेत वर्णन गरेका छन् । सो हमलामा राजाका १९ वर्षीय
अंगरक्षक वसन्तकुमार क्षेत्री मारिएका थिए ।
लेन्डुप राष्ट्रघाती बाटोमा लागेको थाहा
पाएपछि राजाले गान्तोकस्थित दरबारमा बोलाएर पटकपटक सम्झाउने प्रयास गरेका
थिए । अन्तिमपटक उनी नआएपछि राजा आफैँ कान्छा काजीको घरमा गएर सम्झाए ।
(सिक्किमका पुराना मान्छेहरू लेन्डुपलाई कान्छा काजी भन्छन् ।) राजाको भनाइ
थियो, ‘हेर तिमी र मलाई एकअर्कामा विभाजित गराएर भारतले सिक्किमलाई
प्रान्त बनाउन खोजेको छ । तिमी मेरो कुरामा विश्वास गर लेन्डुप ।’
सिक्किमका पुराना पत्रकार तथा लेखक शिव प्रधानले पंक्तिकारसँग भनेका थिए ।
राष्ट्रियता र प्रजातन्त्रका आदर्श, मूल्यमान्यता, संस्कार एवं आचरण बिर्सेर प्रायः सबै दल आज लेन्डुप पथमै हिँडिरहेका छन् । देश नरहे पनि मधेस रहनुपर्छ भन्नेदेखि लिएर धोती त्यातेर रुमाल बेच्ने संघीयतावादीहरू पनि राजनीतिमै छन् । नाम चलेका दलहरू लक्ष्यहीन र एजेन्डाबिहीन बनिरहेका छन् । बीपीजस्तो राष्ट्रवादी र प्रजातन्त्रवादी एकजुट हुनुपर्छ भन्ने विचारका कोही छैनन् ।
‘राजाबारे बीपी र लेन्डुपको बहस’ शीर्षक
लेखमा संवादका प्रत्यक्षदर्शी बलदेव शर्मा मजगैया (पूर्वमन्त्री) लेख्छन्,
‘दोर्जेले बीपीलाई भनेका थिए, ‘बीपी, अब म राजा चोग्याललाई नफ्याली
छोड्दिनँ । उनलाई मैले हटाइनँ भने उनले मलाई नै अपदस्थ गर्छन् । बीपीले
धेरै उदाहरण दिएर काजी दोर्जेलाई सम्झाउनु भएको थियो, ‘तिमीले राजा
फ्याँक्यौ भने सिक्किमको अस्तित्व पनि समाप्त हुनेछ ।’ (हेर्नुस, श्री ५
वीरेन्द्र स्मृतिग्रन्थ पृष्ठ १९२)
स्मरण रहोस्, बलदेव त्यतिबेला (२०३०
सालतिर) बनारसमा कलेज पढ्दै थिए । सारनाथमा बीपीले निर्वासित जीवन
बिताइरहेका बेला लेन्डुप दोर्जे त्यहाँ पुगेका थिए । २०१७ सालको घटनापछि
नेपालमा आठ वर्ष जेल बसेर बिदेसिएका बीपीले राजाले प्रजातन्त्रको पूर्ण
सम्मान गर्नुपर्छ भन्दै संघर्ष गरे । नेपालमा राजतन्त्र र प्रजातन्त्र एउटै
सिक्काका दुई पाटा हुन् भनिरहे । दुई शक्तिलाई परिपूरक ठाने बीपीले ।
एउटाको अभावमा अर्को अपूरो हुन्छ भने । त्यसो भन्दाभन्दै २०३९ साल साउन ६
गते उनी परलोक भए । बीपीको मृत्युसँगै उनको विचारलाई पनि कांग्रेसीजनले
निर्ममतापूर्वक चितामा जलाइदिए । कालान्तरमा गणेशमान सिंह र कृष्णप्रसाद
भट्टराईले पनि पार्टी परित्याग गरे ।
पंक्तिकारले लेन्डुपसँग पहिलोपल्ट भेट्दा
उनी बिरामी थिए । धेरै लामो कुराकानी हुन पाएन । अर्को साल उनी
कालिम्पोङबाट जाडो छल्न सिलीगुडी (पश्चिम बंगाल) झरेका थिए । त्यहाँ लामो
कुराकानी भयो । वृद्ध भए पनि फूर्तिला देखिन्थे कान्छा काजी । उनी राम्रो
नेपाली बोल्थे । सिक्किमलाई भारतको बाइसौँ प्रान्त बनाएपछि दिल्लीका
नेताहरूले बेवास्ता गरेको गुनासो गर्दै उनले भने, ‘नानी, पहिले–पहिले
दिल्ली जाँदा मलाई रातो कार्पेट ओछ्याएर ठूलो स्वागत गर्थे । पछि त
प्रधानमन्त्री इन्दिरा गान्धी र गृहमन्त्री वाईबी चौहानले फोनमा कुराकानी
गर्नसमेत अस्वीकार गर्न थाले ।’ उनी बोल्दाबोल्दै भावुक हुन्थे ।
भनिन्छ, युवावस्थामै गृहमन्त्री र त्यसको
दस वर्षपछि सर्वशक्तिमान प्रधानमन्त्री भएका बीपी (विश्वेश्वरप्रसाद) पनि
युवावस्थामा अलि अहंकारी थिए । पहिलो निर्वाचित प्रधानमन्त्री भएपछि
बीपीलाई ‘प्रयोग’ गरेर दिल्लीका शासकहरूले राजा महेन्द्रलाई टक्कर दिन
खोजेकै हुन् । समयमै यथार्थ सूचना नपाउँदा र आफ्नो स्वार्थ पूरा गर्ने
प्रयत्नमा लाग्दा कोशी सम्झौताले मातृकाप्रसाद कोइरालालाई र गण्डक
सम्झौताले बीपीलाई बद्नाम गरायो । राष्ट्रियताका प्रश्नमा नेपाली
कांग्रेसको दृष्टिकोण स्पष्ट नहुँदा आज पनि चर्को आलोचना हुने गरेको छ ।
कांग्रेसकै असफलता र अभिमानका कारण उग्र कम्युनिस्टहरू छिचिमिरा झैँ
सल्बलाए । कांग्रेस आज तिनै छिचिमिरासँगै सत्ताको स्वैरकल्पनामा उडिरहेको छ
।
राजा महेन्द्र र राजा वीरेन्द्रलाई लक्षित
गरेर जनकपुर तथा विराटनगरमा बम विस्फोट गराउने नेपाली कांग्रेसले तीस लाख
भारतीय रुपैयाँसहित विमान अपहरण गरेको, नेपालका निर्दोष प्रहरी मारेकोलगायत
धेरै कुकर्म गरेको कुरा गिरिजाप्रसाद कोइरालाले ‘आफ्नो कथा’ नामक
आत्मवृत्तान्तमा स्वीकार गरेका छन् । भूल र अपराध रत्नाकर डाँकाले पनि गरे ।
उनी कालान्तरमा वाल्मीकि भए । तर कांग्रेस आज पनि अन्योलमै छ ।
बीपी संवैधानिक राजतन्त्र एवं संसदीय
प्रजातन्त्रबाट विचलित भएनन् । उनको देहान्त भएको सात वर्षपछि राजा
वीरेन्द्रले दलहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिदिए । २०४६ साल चैत २६
गते मध्यरातमा निर्दलीय पञ्चायती व्यवस्था स्वतः अन्त्य भयो । राजा
वीरेन्द्रलाई दलहरूले राम्रो काम गर्छन् भन्ने विश्वास थियो, तर आज पनि
दलहरूले सत्ताको प्रदक्षिणा गर्न छोडेका छैनन् । उनीहरूका निम्ति सिद्धान्त
र नैतिकता गौण बनेको छ ।
कतिपय वामपन्थी लेखकले बीपी र लेन्डुप
उस्तैउस्तै हुन् भन्ने आरोप लगाएका छन्, तर यो गलत हो । तुलनात्मक अध्ययन
गर्दा उनीहरूको आधारभूत चरित्र, ज्ञानको क्षितिज, पृष्ठभूमि र दृष्टिकोण
धेरै फरक पाइन्छ ।
जर्मनी चान्सलर भएका सोडिङ्डर,
विलिब्रान्ट, जवाहरलाल नेहरू, ऊ थान्त, बर्माका जनरल आङदेखि लिएर धेरै
प्रसिद्ध लेखक, नेता, कूटनीतिज्ञ, दार्शनिक आदिसँग बीपीको प्रगाढ सम्बन्ध
थियो । लेन्डुप दार्जेले १६ वर्षको उमेरसम्म रुम्तेक गुम्बामा बौद्धधर्मका
ग्रन्थ पढेपछि युवा अवस्थामा अंग्रेजी सिके । उनमा कुनै पनि विषयको गहिरो
ज्ञान थिएन भन्ने बुझिन्छ । लेन्डुप क्विजलिङ र मिरजाफरका अवतार जस्ता थिए ।
सन् २००७ मा १०३ वर्षको उमेरमा उनको मृत्यु भयो ।
२०४७ सालको संविधानमा ब्रिटिस
प्रजातन्त्रको सुगन्ध मात्र थिएन, राजा वीरेन्द्र र बीपीको चिन्तन पनि
प्रतिविम्बित थियो । दलहरूले यो शाश्वत सत्य बुझेनन् । संविधान निर्माणको
नेतृत्वको गरेको कांग्रेसले पनि बुझेन । सो संविधानलाई सहज मानेर मनमोहन
अधिकारीदेखि मदन भण्डारीसम्म संसदीय चुनावमा सहभागी भएका थिए ।
माओवादमा विश्वास गर्नेहरू पनि २०४७ सालको
संविधान स्वीकार गरेर संसद्मा तेस्रो शक्ति भएका थिए । नेपालको जलस्रोत र
प्राकृतिक स्रोतसाधनबारे संसद्ले दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने,
नागरिकता प्राप्त गर्न नेपाली नै हुनुपर्ने र हिन्दु धर्मावलम्बी मात्र
राष्ट्राध्यक्ष हुन पाउने संविधानका प्रावधान रक्षाकवच थिए ।
भारत तथा पश्चिमालाई त्यो मन नपरेपछि
माओवादीलाई अप्रत्यक्ष युद्ध (प्रोक्सी बार) गर्न उत्प्रेरित गरियो ।
त्यसपछि दस वर्ष लेन्डुपपन्थीहरूले अर्थ न वर्थको कथित जनयुद्ध (? ) गरेर
राष्ट्रलाई अत्यन्त कमजोर बनाए । बाह्रबुँदेमार्फत कांग्रेसले मन्दविष
(स्लो प्वाइजन) स्वीकार ग¥यो । त्यसको परिणाम आज भोगिरहेको छ ।
गणतन्त्र घोषणापछि अहिले दसौँ
प्रधानमन्त्री बन्ने र बनाउने खेल भइरहेको छ । त्यसअघि (२०४७ सालको
संविधानअन्तर्गत) कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन
अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा आदि
प्रधानमन्त्री भए । गुणात्मक दृष्टिले गणतन्त्रकालमा भन्दा सो कालखण्डमा
राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राजनीतिक स्थिरता एवं परराष्ट्र नीतिको
अवस्था सुदृढ तथा सन्तुलित रहेको पाइन्छ ।
राष्ट्रियता र प्रजातन्त्रका आदर्श,
मूल्यमान्यता, संस्कार एवं आचरण बिर्सेर प्रायः सबै दल आज लेन्डुप पथमै
हिँडिरहेका छन् । देश नरहे पनि मधेस रहनुपर्छ भन्नेदेखि लिएर धोती त्यातेर
रुमाल बेच्ने संघीयतावादीहरू पनि राजनीतिमै छन् ।
नाम चलेका दलहरू लक्ष्यहीन र एजेन्डाबिहीन
बनिरहेका छन् । बीपीजस्तो राष्ट्रवादी र प्रजातन्त्रवादी एकजुट हुनुपर्छ
भन्ने विचारका कोही छैनन्, बरु देश बेचेर भए पनि ‘मुख्यमन्त्री’ हुन पाइन्छ
कि भन्ने नेपाली लेन्डुपहरू जताततै छन् । दलहरू आफ्नो चिन्तनले होइन,
पराधीन मानसिकताले नराम्रोसँग बद्नाम बनेका छन् ।



No comments